संक्षिप्त परिचय

      भीमेश्वर नगरपालिका नेपालको ३ नं. प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका हो । यो नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरू समावेस गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी हालको भीमेश्वर नगरपालिका सङ्घीय स्वरूपमा पुनर्संरचना एवम् पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको छ । यस नगरपालिकाको केन्द्र चरिकोट नेपालको राजधानी काठमाण्र्डौबाट १३३ कि.मि. उत्तरपूर्वमा अवस्थित छ ।

        २७ डिग्री ३६ मिनेट उत्तरदेखी २७ डिग्री ४४ मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री ५८ मिनेट पूर्वदेखी ८६ डिग्री ६ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको क्षेत्रफल १३३ वर्ग कि.मि. रहेका छ भने पूर्व पश्चिम लम्बाई १७ कि.मि.सम्म र उत्तर दक्षिण चौडाइ १० कि.मि.सम्म रहेको छ । यस नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । पहाडी प्रदेश अन्तर्गत पर्ने र न्यूनतम ८४० मिटर (चर्नावती त्रिवेणीधाम) देखि अधिकतम ३५४९ मिटर (गणेश थुम्की) सम्मका उचाइमा रहेका यस नगरपालिकाको केन्द्र चरिकोट १९७० मि. उचाइमा रहेको छ । नगरपालिकाको तल्लो भागमा उतोष्ण हावापानी पाइन्छ भने मध्ये भागमा न्यानो समशितोष्ण हावापानी र माथिल्लो भागमा शितोष्ण हावापानी पाइन्छ ।  

    वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६ (पुरुषः १४,९८० र महिलाः १७,५०६) र घर परिवार ८,६३९ रहेको छ । जातिगत दृष्टिीकोणबाट यस नगरपालिकामा क्षेत्री २९.७४ प्रतिशत, नेवार १८.०६ प्रतिशत, तमाङ १५.६२ प्रतिशत, थामी १२.५५ प्रतिशत, बाहुन ११.०८ प्रतिशत, कामी ३.४१ प्रतिशत, घर्ती÷भुजेल १.९७ प्रतिशत, सार्की १.७६ प्रतिशत र अन्य ५.८१ प्रतिशत जातजातिहरूको बसोबास गर्दछन् । धार्मिक दृष्टिकोणले हिन्दु, बौद्ध र क्रिस्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको पाइन्छ । यस नगरपालिकाको साक्षरता ६८.९१ प्रतिशत (पुरुषः ७९.६२ प्रतिशत र महिला ः ५९.८८ प्रतिशत) रहेको छ ।

     भीमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर, मञ्जुश्री मन्दिर, वाराणसी मन्दिर, महाकाली मन्दिर, चर्नावती (त्रिवेणीधाम) चरिघ्याङ गुम्वा यहाँको प्रसिद्ध धार्मिक स्थल हुन भने कालिञ्चोक भवगती मन्दिर प्रवेशद्वारको रूपमा समेत यस नगरपालिका रहेको छ । 

 

 भीमेश्वर नगरपालिकाको     १) श्रोत नक्शा